जनप्रिय साहित्य चौतारी
Friday, March 21, 2008
कथा
मैनबत्तीको उज्यालो
जनप्रिय खनाल
रात छिप्पिदै गएको थियो । म पर्ढाईमा ब्यस्त थिएँ । एकाएक आकाश गड्किएको आवाज आउँछ र बलिरहेको बिजुली बत्ती निभ्छ । दिनभरी सुतेर होला मलाई पटक्कै निन्द्रा लाग्दैन । अध्यारोमा छाम्मछुम्म पार्दै सलाई खाजेर मैनबत्ती सल्काउँछु । वाहिर चलिरहेको हावाको झोक्काले मैनबत्ती बल्न बाधा पुर्याउँछ । बिस्तारै जल्न शुरु गर्छ । म त्यतै नियालेर हेर्छु । अन्धकारमा एक खाले कठोर संघर्ष गर्दै कोठामा मैनबत्तीले उज्यालो छर्छ । कोठामा उज्यालो छर्ने प्रयास गरिरहेको त्यो दृष्यले मेरो मन खिचिरहेको थियो । हेर्दा-हेर्दै केही बेर अघिको बत्ति बामे सर्दै गरेको दियो जवान भइसकेको थियो । ऊ आफू गल्दै मेरो पढ्ने चाहाना पूरा गर्न भरमग्दुर प्रयासरत थियो तर मलाई पढ्ने रुची नै थिएन । उसले आफू जलेर उज्यालो दिएको विषयमै मेरो मन रुमलिएको थियो । ऊ दधिचि ऋषि झैं आफ्नो जीवन सिद्धाएर मेरो लागि उज्यालो छर्दै थियो । मेरो ध्यान त्यही बेला बजेको टेलिफोनको घण्टीले भङ्ग हुन्छ ।
हजुर कस्लाई खोज्नु भयो होला ? (मध्यरातमा आएको फोन आफूलाई नै हो भन्ने अनुमान समेत गर्न नसकि सोध्छु ।) जवाफ केवल हाँसो मात्र आउँछ । त्यसपछिको मेरो अर्को प्रश्न अनायासै हाँसो नै बनिदिन्छ । हाँसो बीच नै अनौठा सवाल जवाफ हुन्छन् । ती कुरा म शब्दले ब्यक्त गर्न असमर्थ छु ।
'किन यति रातीसम्म पनि नसुतेर बस्नु भा'को ?' जवाफभन्दा मलाई प्रश्न नै सोध्न बढि मन लाग्छ । 'तिमी नि सानी ?'
'खै के जवाफ दिउँ ? चाहेर त म ९ बजे नै सुतेकी हुँ । आफूले चाहेर पनि निंदले मान्दोरहेनछ । अन्धकारमा नेपालगञ्जमा लामखुट्टेहरु मित्तेरी लगाउन आउँछन् । गर्मी झन उस्तै । यादको गर्मीलाई सितलता दिन नै हजुरको सम्झना गरेको ।'
'म त दिउँसो तिम्रै बारेमा खै के-के सोच्दै थिएँ । भुसुक्कै निदाएछु । रातमा त केही पढ्नु पर्यो भनेर बसेको त बिद्युत नै छैन् । अध्यारोलाई चिर्न मैनबत्तीको सहारा लिएको छु । तर पनि पर्ढाईमा मन नै छैन् । हेर न यो मैनबत्ति आफू जलेर मलाई पढाउन कति प्रसास गरिरहेको छ । किन मैनहरु अरुलाई ज्यान दिन्छन् ? '
मेरो भनाईप्रति ऊ केही गम्भीर हुन्छे 'मैन त एउटा निर्जिव बस्तु हो । यहाँ त जिवात्माहरु पनि आफू जलेर अरुलाई प्रकाश दिने गरिरहेका हुन्छन् । जीवनको एउटा अमूल्य उपलब्धी सम्झेर ।'
'किन मानिसहरु आफ्नो जीवनको मूल्य बुझ्दैनन् काली ? आफू जलेर सिंगो समाजलाई वा ठूलो समूहलाई फाइदा हुने भएपछि त हो, त्यो अमर बन्छ । अझ आजभोलिको अति प्रचलित शब्द शहिद नै बन्छ । होइन भने कुनै एक जनाको लागि मात्र गरेको त्यागका क्रममा भएको मृत्युको त कुनै अर्थ नै रहँदैन ।'
'तपाईको मान्यता शतप्रतिशत ठीक छ तर एक पटक आफू नजिकैको वातावरणलाई पनि त नियालेर हेर्नुस् । कतै त्यही त्यागको छायाँ भेट्नु त हुन्न । तपाईको विचार झै धेरै कुरा सिद्धान्तमा मात्र सीमित हुन्छन् । सिद्धान्त प्रतिपादक नै ती कुराहरुलाई लागू गर्न सक्दैनन् । यही नै परिवर्तनको बाधक बनेको हुन्छ । थाहा छ तपाईलाई-'एक जना चर्चित पण्डित रहेछन् । उनका धेरै चेला पनि बनिसकेका रहेछन् । उनको आफ्नो अनौठो बानी माछामासु बिना खाना नै नरुच्ने । तर, उनले सधैं मांसाहारी बिरुद्धको प्रवचन दिंदा रहेछन् । प्रवचनका क्रममा उनले माछामासु खानु भनेको महापाप हो भन्दा धर्मप्रति आस्था राख्नेहरु निकै प्रभावित भएर उनको ख्याती बृद्धि हुँदै गएको थियो । पण्डितकी श्रीमतीलाई पनि धेरैले मान सम्मान गर्न थालेछन् । आखिर यस्तो किन भइरहेको छ ? भनेर एकदिन उनी पनि लुकेर प्रवचन सुन्न गइछन् । प्रवचनपछि त उनलाई आफूले ठूलो पाप गरेकोमा ग्लानी भयो । घरमा आएर सधैं बनाउने माछामासुका परिकारको सट्टा सागपात लगायतका अन्य शाकाहारी खाना तयार गरिन । पण्डित खाना खान बसे । परिकार आफ्नो चाहाना भन्दा भिन्नै भएपछि निकै रिसाएछन् । सोझी पण्डितनीले हजुरले त माछामासु खानु हुन्न भनेर प्रवचनमा भन्नु भएको होइन र त्यसैले मैले आफ्नो गल्तीको आत्मालोचना गर्दै खानामा सुधार गरेकी । त्यसपछि पण्डितले हाँसेर भनेछन् । तिमी त साहै्र सोझी रहेछौ बूढी । मैले त कितावका माछामासु पो खानुहुन्न भनेको खोलाका माछा त खानु पर्छ । हो यस्तै छन् । यहाँका प्रतिपादकहरु । आफ्नो दैनिक जीवनप्रति ख्यालै नगरी अरुको लागि धेरै काम कुराहरु हुन्छन् । त्यसपछिका परिणामहरु यस्तै हुन्छन् ।'
उनको कुराले मेरो पनि मन छोयो । पल्लो गाउँको हर्केलाई नियालेर हेर्छु । आफ्नो भागको जग्गा समेत बेचेर भाइलाई पढायो । भाइ क्याम्पसमा लेक्चर छ तर दाजुलाई फर्केर हेरेको छैन् । विचारा हर्के अहिले छोरो पढाउन नसकेर शहरमा काम गर्न पठाएको छ । गैरीगाउँको बिर्खेले आफ्नो काका चतुरमानलाई समस्या पर्दा जग्गा बैंकमा राखेर ऋण निकालिदियो । चतुरमान त्यही पैंसाले अमेरिका पुग्यो । अहिले बिर्खे जंगल किनारमा सुकुम्वासी भएर बसेको छ । अखिर किन बुझ्दैनन् मानिसहरु ? भावनामा आएर आफू नै समाप्त हुने गरी अरुका लागि मरिमेट्छन् । परिणाम सधैं पीडा मात्र । कसैले आफूलाई सिध्याएर गरेको सहयोग क्षणिक समयका लागि हो । गुनको बद्ला गुन तिर्नुपर्छ भन्ने किन बुझ्दैनन् । किन मान्छेले समस्या परेको बेला गरेको सहयोगको मूल्य बुझ्दैनन् । मलाई त्यही बेला बाबाआमाले भनेको सम्झना हुन्छ-'छोरा कुलत र कुसंगतमा नलागिस् है ? पढाइ भन्दा अन्त ध्यान नदिनु ।' जसले लगानी गरेको हुन्छ, उसलाई प्रतिफलको आशा हुँदोरहेछ । म पनि बलिरहेको मैनबत्तिले आफूलाई धिक्कारी रहेको ठान्छु ।
हेलो, हेलो.. भनेपछि मेरो मौनता भङ्ग हुन्छ । म चुप लागेर बस्दा सानीलाई नमज्जा लाग्छ । ऊ चिन्ता गर्छे-'किन नबोल्नु भएको ? मैले बढि बोलें र ?' मैले सानीले के भनेकी ठम्याउन सकिन । मेरो ध्यान अझैं जलिरहेका मान्छे र गलिरहेको मैनतिर नै थियो । गल्ती भए माफ पाउँ सानी आफूलाई सच्चाउँदै भन्छे-'रिस पनि कति चाँडो उठेको ?' अहिले त मेरो पूरा ध्यान सानीकै कुरामा थियो । मलाई हाँसो लाग्छ । हा हा हा गरेर हासिदिन्छु । उसलाई ब्यङ्गय गरेको जस्तो लाग्छ । सानी म सँग रिसाउँछे । यो कस्तो प्रेम हो टेलिफोनमै रिसाउने, टेलिफोनमा नै माफी माग्ने अनि टेलिफोनमा र खुसी साँटासाट गर्ने ? हाम्रो वार्तालाप सकिएको छ । सानी आत्तिएर मधुर स्वरमा मैले फोन राखें दिदी आउनु भयो भन्छे । मैले वाईवाईसम्म पनि भन्न भ्याउँदिन । टेलिफोन बिच्छेद हुन्छ । मेरो फोनको रिसिभर कानमा नै लगाइएको हुन्छ । ध्यान फेरि मैनबत्तितिर जान्छ । त्यत्तिबेला मैनबत्ति जलेर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ । धिप्पधिप्प बलिरहेको बेला हावाको झोक्काले आक्रमण गर्दा कतिकति बेला त धन्न निभ्न नै खोज्छ । त्यस क्षणलाई म सम्झन्छु, बुढेसकाल लागेको बृद्ध मानिसको अवस्था जसले सहारा खोजिरहेको हुन्छ । अनि मलाई लाग्छ, आत्मनिर्भर नहुने हो भने सहारा भनेको क्षणिक हुँदोरहेछ । परनिर्भर भएर बस्ने हो भने जीवन अन्धकारमा धकेलिन्छ । त्यत्तिबेला सानीले भनेको सम्झन्छु-'तपाई आफूलाई नियालेर हुनुस् त ?' यसो दायाँ बायाँ, अगाडि पछाडि हेर्छु, तर कहिं पनि आफ्नो जीवनमा त्यस्तो देख्दिन । सानीले के भनेकी होली आँखा चिम्म गरेर सम्झने प्रयास गर्छु । अहँ ठम्याउन सक्दैन । आँखा खोलेर हेर्दा सारा संसार अन्धकारमय भैसकेको हुन्छ । त्यसबेला म हर्के बिर्खे जस्ताको जीवन पनि यसरी नै अन्धकारमय भएको सम्झन्छु । कोठामा धुवाँको गन्ध आउँछ । म मसानघाटमा जलिरहेको लासबाट धुँवाको मुस्लोले सारा बादल कालो भएको ठान्छु । त्यसपछि थाहा पाउँदिन म कुन बेला निदाएछु ।
posted by Shankar Khanal at 10:32 PM

1 Comments:
Welcome to the world of blogging!
Your first post is a nice post.keep on posting althoug I am sure u will .
about story,
कुनै एक जनाको लागि मात्र गरेको त्यागका क्रममा भएको मृत्युको त कुनै अर्थ नै रहँदैन ।'
I was touched by above line so much.
Good job keep it up.
Post a Comment
<< Home