जनप्रिय साहित्य चौतारी

Sunday, June 8, 2008

डायरी

बजारबिनाका फलफूल

चैत्र बैशाख लाग्यो कि चराले पहाडमा पाकेको फलफूलको सन्देश तर्राईतिर पुर्‍याउँछ-'काफल पाक्यो, काफल पाक्यो' भनेर । पहाडबाट झरेकाहरु त्यही आवाज सुनेर चित्त बुझाउँछन् । गाउँमा सित्तैमा पाइने फलफूल आजभोलि काठमाडौंजस्ता ठूला शहरमा किनेर पनि खान पाइन्छ ।
मैले पनि बाँकेको कोहलपुर र काठमाडौं पुगेपछि काफल किनेर खाने मौका पाएको थिए । झण्डै एकदर्जन पटक खाए हुँला तर काफलको वास्तविक स्वाद भने थाहा थिएन । वासी काफल खाँदा प्राकृतिक गुण सबै कहाँ पाउन सकिन्थ्यो र । जेठको पहिलो साता रोल्पाको एक साता लामो यात्राको क्रममा मात्र काफलको प्रशंशा नै गर्ने गरी स्वाद चाख्ने मौका पाए । दाङबाट रोल्पाको तीलासम्मको यात्रा पूरा नहुँदै बाटोमै गाडी बिग्रियो । यही बेला मैले पहाडका फलफूलको वास्तविक स्वाद लिन पाए । लेक काट्ने बेलामा ऐंसेलु खान पाइयो । अर्को दिन पाछावाङको बाटोमा एउटा बोटमा काफल पाकेको रहेछ । मेरा सहयात्री माओवादी जनमुक्ति सेनाका सिपाही प्रभात सर काफल खाँऊ भनेर रुखमा चढेर काफल टिप्न थाले । उनले पोकोमा काफल ल्याए । हतार-हतार एक मुठी काफल खाए । यसपछि काफलको स्वादले मलाई आकर्षा गर्‍यो । केवरीको जंगलमा रुखमै बसेर कति काफल खाइयो, खाइयो ।
शहरमा सानो गिलासको ५ रुपैया पर्ने काफल मात्र होइन रोल्पाका ग्रामीण वस्ती र वनहरुमा काफल, ऐंसुेलु र तिंदु प्रसस्त पाइदो रहेछ । गाउँले बोट छानीछानी टिपेर घरमा ल्याउँदा रहेछन् । यहाँ किन्नुबेच्नुसँग कुनै सरोकार छैन । वटुवालाई बाटो काट्न यस्ता फलफूलले सजिलो बनाउने रहेछ भन्ने मैले महसुस गरे । पाकेका फलफूल रोल्पा सदरमुकाम लिवाङका साथै दाङको लमही, घोराही, र तुल्सीपुरका मात्र पुराउन सक्ने हो भने कसैको व्यवसाय नै चल्न सक्छ । यसो गर्न कसैलाई मतलब छैन । उनीहरु बरु अर्को बर्षो लागि चाहिने भनेर हाँगा पनि जोगाएर राख्छन् । यात्रा अवधिभर मैले बाटोमा फलफूल खाँदा के अनुभव गरे भने यहाँका जनताले प्राकृतिक सम्पदा जोगाउनु पर्छ भन्ने बुझेका रहेछन् तर यसलाई आम्दानीको श्रोत बनाउनु पर्छ भन्ने भावनाको विकास भएको पाएन ।
posted by Shankar Khanal at 5:32 AM

0 Comments:

Post a Comment

<< Home